Section 30
अस्थायी मतदाता नामावली तयार गर्ने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रयोजनको लागि आयोगले छुट्टै अस्थायी मतदाता नामावली तयार गराउन सक्नेछ।
(२) उपदफा (१) बमोजिमको अस्थायी मतदाता नामावलीमा दफा २० बमोजिमको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका देहायका व्यक्तिको नाम समावेश गरिनेछः–
(क) नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी,
(ख) ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी,
(ग) कारागारमा रहेका थुनुवा र कैदी
तर निर्वाचन कसूरमा सजाय भोगिरहेको व्यक्तिको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिने छैन ।
(घ) निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी,
(ङ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालन भएको वृद्धाश्रममा बसेको व्यक्ति,
(च) आयोगले तोकेको अन्य व्यक्ति ।
(३) अस्थायी मतदाता नामावली सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।